कसको हालत के हुन्छ आउने निर्वाचनले देखाउने छ: प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने चुनावले कुन पार्टीको हालत के हुने भन्ने देखाउने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी एकीकरण कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै प्रचण्डले कसैले अहिले धाक धम्की दिए पनि चुनावले वास्तविकता देखाउने बताए। उनले ओली अहिले गाउँ-गाउँमा शिला खोज्न निस्किएको बताए। ओलीले बिहीबारमात्रै पर्सामा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष जितेका जालिम मियाँलाई एमालेमा प्रवेश गराएका थिए।
ओलीलाई प्रतिगमनकारी शक्ति भन्दै प्रचण्डले गत वर्ष पुस ५ मा संसद विघटन गरेर अहिलेको व्यवस्था उल्टाउन खोज्ने ओलीको प्रयासलाई सबै मिलेर सफल हुन नदिएको बताए। उनले अहिलेको पाँच दलीय गठबन्धनलाई अझ बलियो बनाउँदै लैजानु पर्ने पनि उल्लेख गरे।
‘यो गठबन्धनलाई अगाडि लैजानुपर्छ। यसलाई बलियो बनाउन हाम्रोतर्फबाट सबै प्रयासहरू गरिनेछ,’ प्रचण्डले भने।