जलवायु परिवर्तनसम्बन्धी विश्व नेताहरूको बैठकमा प्रधानमन्त्री देउवा
जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा विश्व नेताहरुको शिखर बैठकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेका छन्।
सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेण्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरुसँग आग्रह गरेका थिए।
सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकमा प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रमा तीव्र गतिमा उष्णता बढेर समग्र दक्षिण एशियामै खाद्य, जल, ऊर्जा र मानवीय सुरक्षामा गम्भीर चुनौती खडा गरेको र हिमतालहरु पग्लेर समुद्री सतह बढ्न जाँदा तटीय र टापू राष्ट्रहरुको अस्तित्व सङ्कटमा पर्न थालेको सन्दर्भ अघि सार्दै यस्तो आग्रह गरेका हुन्।
कोप–२६ सम्मेलनले लिने निर्णयले अहिले प्रभावित जनसमुदाय, भावी पुस्ता र प्रकृति माताप्रति न्याय गर्नै पर्ने र ती निर्णयहरु माथि धेरै हदसम्म पृथ्वीमण्डलको भविष्य निर्भर रहने उनले बताए।
सो क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदी, बेलायती समकक्षी बोरिस जोन्सनलगायतसँग पनि भेटवार्ता गरेका थिए।