ओखलढुंगामा तीर्थालु बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु
ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार जिप दुर्घटना भएको छ । जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।
तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख काफ्लेले बताए ।
दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको काफ्लेले बताए ।
च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिकामा दुर्घटना भएको हो ।
एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो जीप सुनकोशी गाउँपालिका–९ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।