मन्त्रीले देशलाई घाटा हुने कुरा गरे कर्मचारीले सिधै ‘हुन्न’ भन्नुपर्छ : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले कुनै मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुरा गर्दा त्यसलाई कर्मचारीले सिधै ‘हुन्न’ भन्न सक्नुपर्ने बताएका छन् । आफूले मन्त्रालयमा त्यस्तो कर्मचारी चाहेको उनको भनाइ छ ।
नवनियुक्त अर्थसचिव मधुकुमार मरासिनीको पद बहाली र निवर्तमान अर्थसचिव शिशिरकुमार ढुङ्गानाको बिदाईका लागि सोमवार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘मन्त्रालयमा टेबुल-टेबुलको शासन चलाएर हुँदैन, अत्यावश्यकीय महत्वपूर्ण विषयमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा गर्यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु।’
महालेखा नियन्त्रकको कार्यालयबाट मरासिनी अर्थ सचिवका रुपमा सरुवा भएका छन् । निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गाना भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । ढुंगाना आगामी ६ महिनापछि सेवानिवृत्त हुनेछन् । मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले निवर्तमान सचिवको विदाई र नवनियुक्त सचिवको स्वागत गरे ।
कार्यक्रममा अर्थमन्त्री शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिए । अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न उनले आग्रह गरेका हुन् ।
आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मिहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्पि्रटलाई ममन गर्न निर्देशन दिए ।