बेड नपाएर एम्बुलेन्समै वडा सदस्यको मृत्यु
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीका स्वकीय सचिव मेघराज भट्टराईले शुक्रबार बिहानै एउटा स्टाटस फेसबुकमा पोष्ट गरे। बिहानै ५ बजे पोस्ट गरिएको उनको स्टाटस कारूणिक मात्र थिएन रुपन्देहीमा कोरोना संक्रमित र उनिहरूको उपचार गरिरहेका अस्पतालको भयावह अवस्थालाई छर्लङ्ग पारेको थियो।
भट्टराईले उनको ज्यान बचाउन नसकी लाचार भए भन्दै अलबिदा मागेका व्यक्ति हुन्- बुटवलका जनप्रतिनिधि नवीन थापा।
बुटवल उपमहानगरपालिका वडा न. ७ का वडा सदस्य नवीनको भट्टराईले भनेजस्तै अस्पतालको बेड नपाएर एम्बुलेन्समै ज्यान गएको हो। कोरोना संक्रमित थापालाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, क्रीमसन अस्पताल, भिम अस्पतालहुँदै युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा पुर्याइएको थियो। तर मेडिकल कलेजमा पनि बेड खाली नहुँदा उनले एम्बुलेन्समै ज्यान गुमाउनुपर्यो।
यसअघि कोरोनाको पहिलो लहरमा बुटवल उपमहानगरपालिका -८ का वडा सचिव नारायण ज्ञवालीले पनि बेड अभावमै ज्यान गुमाएका थिए।
चिकित्सकका अनुसार पहिलो चरणमा संक्रमण देखिए पनि सबैलाई अक्सिजन आवश्यक थिएन। तर दोस्रो लहरमा फैलिएको संक्रमणपछि अस्पताल पुग्ने सबै बिरामीलाई अक्सिजन लगाउनैपर्ने बाध्यता छ। थापालाई पनि मेडिकल कलेजमा बेड खाली भए पनि अक्सिजन नहुँदा एम्बुलेन्सको अक्सिजनकै साहारामा मेडिकल कलेज बाहिर राखिएको थियो।
जनप्रतिनिधिलेसमेत अक्सिजन अभावमा अस्पताल बाहिर ज्यान गुमाउँछन् भने सर्वसाधारणको अवस्था कस्तो होला कल्पना गर्न सकिन्न
कोरोना संक्रमितको उपचार गराईरहेका रूपन्देहीका ५ वटा अस्पताल कुनैमा पनि एक जना थप बिरामी भर्ना गर्न सकिने अवस्था नभएको अस्पतालहरू बताउँछन्। दैनिक ६-७ सयको संख्यामा संक्रमित थपिने रूपन्देहीमा बिरामीले बेड पाउन सम्भव छैन।
एचडियु, आईसियु र भेन्टीलेटर गरि धागो कारखानामा ५२ बेडमा कोरोना संक्रमितको उपचार गरिरहेको लुम्बिनी प्रादेशिक अस्पतालले अस्पताल परिसरमा ७ बेडको फिभर क्लिनिक सञ्चालन गरेको छ। यसलेसमेत बिरामीको चाप धान्न नसकेपछि ईमर्जेन्सीमासमेत बिरामी भर्ना गर्न थालिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनाल अक्सिजन अभाव भएपछि लाचार भएर बिरामीको अवस्था टुलुटुलु हेर्नेबाहेक अरू केही गर्न नसकिएको बताउँछन्।
लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले दैनिक ४ देखि ५ सयको हाराहारीमा अक्सिजन सिलिन्डर आवश्यक पर्छ। तर आवश्यक पर्ने भन्दा आधा मात्र अक्सिजन उपलब्ध भएको डाक्टर खनालले बताए।
अक्सिजन मात्रै भए पनि बिरामीलाई भुईमै सुताएर उपचार गर्न हुन्थ्यो। तर आवश्यकता अनुसार अक्सिजन नभएपछि उपचार गर्न असमर्थ भएको उनले बताए।