चितवनमा रेम्डेसिभिरको कालोबजारी
कोरोना संक्रमित बढेसँगै चितवनमा ‘रेम्डेसिभिर’को कालोबजारी हुन थालेको छ।
कोरोना संक्रमितका आफन्तले सघन उपचार गराइरहेका बिरामीका लागि उपयोगी हुने भनिएको औषधी रेम्डेसिभिर कालोबजारबाट खरिद प्रयोग गर्दै आएको खुलेको छ।
औषधि व्यवस्था विभागले एक हप्ताको अवधिमा २२२ भाइल रेम्डेसिभिर चितवन पठाएको उल्लेख गरेको छ। यहाँको चितवन मेडिकल कलेजलाई १०२, पुरानो मेडिकल कलेजलाई ४८ र भरतपुर अस्पताललाई दुई पटकमा गरेर ७२ भाइल रेम्डेसिभिर पठाएको विभागको सूचनामा उल्लेख छ।
तर, गम्भीर अवस्थाका कोरोना संक्रमितका लागि ६ भाइल आवश्यक पर्ने भनिएको यो औषधी आवश्यक मात्रामा अस्पतालबाट नपाएपछि बिरामीका आफन्तले कलोबजारबाट खरिद गरी प्रयोग गर्ने गरेका छन्।
चितवन मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत् एक बिरामीका आफन्तले दुई दिनअघि १३ हजार रुपैयाँका दरले तीन भाइल रेम्डेसिभिर काठमाडौंबाट मगाए। ‘दुई भाइल अस्पतालबाट पाइयो, अब एक भाइल आवश्यक छ,’ उनले भने, ‘अस्पताल छैन भन्छ, सरकारी अस्पतालले पनि छैन भनेको छ, बाहिर बुझ्दा ३५ हजार रुपैयाँ भनिरहेका छन्।’
उनले आइतबारसम्म कुर्दा पनि सरकारी औषधी नपाए बाध्य भएर फेरि कालोबजारकै किन्नुपर्ने बताए। ६ दिनदेखि आइसियूमा उपचार भइरहेका संक्रमितका आफन्तले भने, ‘यसैको कारण बिरामी बाँच्छ भने ५० हजार भने पनि तिर्नेपर्यो नि।’
उनले दर्जनौं व्यक्तिसँगको सम्पर्क पश्चात बल्ल औषधी बेच्ने मान्छेसम्म पुग्न सकेको बताए।