रुपन्देहीमा दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग
रुपन्देहीमा कोरोना संक्रमितको उपचारका लागि दैनिक सात सय सिलिन्डर अक्सिजन अपुग देखिएको छ ।
सरकारी र निजी अस्पतालमा दैनिक कम्तीमा १६ सय सिलिण्डर अक्सिजन खपत भइरहेको छ, तर जिल्लाका तीन उद्योग पूर्ण क्षमतामा चल्दा सरदर ११ सय सिलिण्डर मात्रै उत्पादन हुन्छ । तर कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले दैनिक ७ सय सिलिण्डर अक्सिजन अपुग हुने अस्पतालहरुको दावी छ ।
जिल्लाका उद्योग २४ घण्टा नै सञ्चालन हुँदा पनि अस्पतालको आवश्यकता पूरा गर्न सक्दैनन् । अस्पतालका अधिकारीहरुका अनुसार जिल्लाको उत्पादनले दिनमा १५ घण्टा पनि धान्न सक्दैन । झन् पटक–पटक लोडसेडिङका कारण उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसकेको लुम्बिनी ग्यास उद्योगका सञ्चालक रमेश खनाल बताउँछन् ।
‘बेडमा भएको अक्सिजन सकिएको हुन्छ, बाहिरबाट आउनुपर्ने आइपुगेको हुन्न’लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. राजेन्द्र खनाल भन्छन्–‘क्रिटिकल अवस्थामा बिरामीलाई एक मिनेट पनि अक्सिजन सप्लाई रोकियो भने ज्यान तल माथि भइहाल्छ ।’
जिल्लाको ओमसतिया गाउँपालिकामा रहेको लुम्बिनी अक्सिजन इण्डष्ट्रिज प्रालिले दैनिक बढीमा ३ सय सिलिण्डर, तिलोत्तमा– १४ स्थित लुम्बिनी अक्सिजन ग्यास प्रालिले दैनिक २ सय ५० सिलिण्डर र शंकर ग्यास उद्योगले ५५० सिलिण्डर अक्सिजन उत्पादन गर्छन् ।