वायु प्रदूषण फेरि बढ्यो
आज मौसम बदली भएर घाम लागेको छैन । साथै वायुको गुणस्तर खस्किएकाले पनि घाम नलागेको र चिसो समेत बढेको छ ।
हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम बदली भएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने धेरै स्थानहरूमा तुँवालो रहेकाले वायु प्रदूषण पुनः बढेको छ ।
संसारका मुख्य शहरहरुको वायुको स्वच्छताबारे अपडेट दिने आइक्युएयरका अनुसार काठमाडौँ अहिले संसारकै बढी प्रदूषित शहरको पहिलो नम्बरमा रहेको छ । केही दिन एक्युआइ (वायु गुणस्तर सूचक) मा प्रदूषणको मात्रा केही घटेको थियो । तर मौसममा खराबी आएसँगै र देशका विभिन्न भागमा डँढेलो लाग्नुका साथै तुँवालो समेत बढेकाले वायु गुणस्तर पुन खस्किएको हो । हाल (सोमबार बिहान) काठमाडौँको एक्युआइ २२० रहेको छ ।