स्थानीय वायुको असरले काठमाडौंमा असिना-पानी
स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना-पानी परेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा गड्याङगुडुङसहित असिना-पानी परेको हो।
'अहिले नेपालमा कुनै मौसमी प्रणाली छैन। स्थानीय वायुको प्रभावले असिना-पानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने,‘भोलि पनि अपरान्हपछि यस्तै हुन सक्छ। काठमाडौंको आकाशमा टन्नै बादल भएकाले अहिले केही ठाउँमा दिउँसै बत्ती बाल्नु पर्ने अवस्था भएको उनले बताए।
'ठाउँअनुसार फरक-फरक छ। कहिँ धेरै पानी परेको छ, कहिँ कम,’ पौडेलले भने,‘प्रि-मनसुनमा यस्तो हुन्छ। दुई-तीन घन्टापछि यो खुलेर जान्छ।’
असिना पानी परेसँगै काठमाडौं उपत्यकामा यसअघि बढेको वायु प्रदुषण घटने अपेक्षा गरिएको छ।