आगामी रणनीति तय गर्न जंगी अड्डामा पृतनापतिहरूको बैठक सुरू
जंगी अड्डामा उच्च सैनिक अधिकारीहरूको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ सुरू भएको छ।
विगतको समीक्षा, सेनाको भावी कार्यदिशा र कार्ययोजनाको विषयमा रणनीति तय गर्न उच्च सैनिक अधिकारीहरूको बैठक सुरू भएको हो।
हरेक ६/६ महिनामा आयोजना हुने बैठकको बुधबार प्रधानमन्त्री केपी ओलीले शुभारम्भ गरे। त्यस अवसरमा ओलीले बैठक विगतको गहन समीक्षासहित नेपाली सेनाको भावी कार्यदिशा र कार्ययोजनाका लागि आधार निर्माण हुने विश्वास लिए।
उनले बैठकमा हुने छलफल तथा निष्कर्षले नेपाली सेनाका फिल्डमा तैनाथ, बाहिनी, गण तथा गुल्महरूका लागि मार्गदर्शन हुने बताए। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रूपमा विकास गर्नुपर्ने बताए।
उक्त लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थागत गर्दै कार्यसंस्कृतिका रूपमा स्थापित गर्दै लानुपर्ने बताए।
बैठकले विषयगत तथा क्षेत्रगत रूपमा हाल भइरहेका कार्यहरूको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए।