बडीमालिकामा हिमपातपछि हराएका कञ्चनपुरका युवक मृत फेला
बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा भारी हिमपातपछि सम्पर्कविहीन भएका कञ्चनपुरका एक युवक मृत अवस्थामा फेला परेका छन् ।
कञ्चनपुरको बेदकोट नगरपालिका–दैजी घर भएका २० वर्षीय मनिष बोहरा आइतबार बिहान त्रिवेणी पाटननजिकै मृत अवस्थामा फेला परेका हुन् ।
बोहराको खोजीका लागि आइतबार बिहान बाजुराको सदरमुकाम मार्तडीबाट हेलिकप्टरमार्फत सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो । खोजीका क्रममा उनको शव फेला परेको हो । फेला परेको शव र उद्धारमा खटिएका सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत मार्तडी ल्याउने तयारी भइरहेको छ ।
भारी हिमपातका कारण बडीमालिका क्षेत्रमा पुगेका तीर्थयात्रीहरू समस्यामा परेका थिए । हिमपातपछि कतिपय तीर्थयात्री सम्पर्कविहीन भएका थिए भने केही धर्मशालामा अलपत्र परेका थिए ।
यसअघि हिमपातका कारण त्रिवेणी पाटनस्थित धर्मशालामा अलपत्र परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरी मार्तडी ल्याइएको थियो ।
बडीमालिका माताको दर्शन गरेर फर्किने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा आश्रय लिएर बसेका थिए ।