कपिलवस्तुमा प्रहरीको दुई राउन्ड हवाई फायर, ब्राउन सुगरसहित दुई जना पक्राउ
कपिलवस्तुको बाणगंगा नगरपालिका–३ राजापानीबाट प्रहरीले दुई राउन्ड हवाई फायर गरी खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।
भारतबाट लागूऔषध भित्र्याएर कारोबार भइरहेको विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार २०८३ कात्तिक १५ गते (नोभेम्बर १, २०२६) खोजतलास तथा अनुसन्धानका क्रममा शङ्का लागेर चेकजाँच गर्न खोज्दा उनीहरूले प्रहरीमाथि नै प्रतिकार गरेका थिए । त्यसपछि स्थिति नियन्त्रणमा लिन चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट २८.८२० ग्राम खैरो हेरोइन, भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र दुई थान मोबाइल बरामद गरेको छ ।
पक्राउ पर्नेमा बाणगंगा नगरपालिका–११ का ३४ वर्षीय सलाउदिन मुसलमान र सोही नगरपालिकाको वडा नम्बर १२ का २८ वर्षीय उमेश थारू रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।