पृथ्वी राजमार्गको मझिमटार सडकखण्ड सोमबार तीन घण्टा बन्द हुने
धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित पृथ्वी राजमार्ग तीन घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिनेछ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) को सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्द हुने जानकारी गराएको हो । निर्माण कार्यलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्न सडक बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।
कार्यालयले उक्त अवधिमा यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै, ट्राफिक नियम र सडक अनुशासन पालना गरी यात्रा गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।