दैलेखमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दैलेखमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–४ चिसापानीस्थित सुर्खेत–दैलेख सडकखण्डमा आइतबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार ५५ वर्षीय कृष्णकुमार आचार्यको मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ बजे सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००३ प २२१० नम्बरको मोटरसाइकल सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०२–००१ क ०१९३ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो ।
मोटरसाइकलमा चालक श्रवणकुमार आचार्य र पछाडि उनका बुवा कृष्णकुमार सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ निवासी कृष्णकुमारको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक श्रवणकुमार भने सकुशल रहेको प्रहरीले जनाएको छ । ट्रक चालक दाङको लमही नगरपालिका–३ का २५ वर्षीय सबिन चौधरी रहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।