ब्राजिलमा कोरोनाबाट एकैदिन दुई हजारभन्दा धेरैको मृत्यु
ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार एकैदिनमा दुई हजारभन्दा धेरैको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार ब्राजिलमा कोरोनाबाट दुई हजार २८६ जनाको मृत्यु भएको हो । यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ६८ हजार ३७० पुगेको छ ।
विशेषज्ञहरुले ब्राजिलमा पछिल्लो समय कोरोना संक्रमण बढ्नुको कारण मुलुकमा फैलिएको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) रहेको बताएका छन् । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक कदम नचाल्नु पनि कोरोना संक्रमण बढ्नुको एक कारण रहेको जानकारहरुको भनाइ छ । बुधबार राष्ट्रपति बोल्सोनारो पहिलोपटक सार्वजनिक कार्यक्रममा मास्क लगाएर उपस्थित भएका थिए । उनले साताको सुरुमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेसँगै मानिसहरुलाई ‘रुने काम बन्द गर्न’ आग्रह गरेका थिए ।