तुवाँलो अझै कायम रहने
विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासी देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो ।
'तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ ।' उनले भने । यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका एक,दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.८ डिग्री र अधिकतम तापक्रम २४.८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८.६ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस रहेको छ ।