ब्राजिलमा एकै दिन २६ सयबढी संक्रमितको मृत्यु
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ । त्यहाँ पछिल्लो एक दिन (बिहीबार) मा मात्रै थप ९७ हजार ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो कोरोना महामारी फैलिएयता ब्राजिलमा सर्वाधिक दैनिक संक्रमित संख्या हो ।
वल्र्डोमिटर्सका अनुसार ब्राजिलमा बिहीबार कोरोनाका कारण मृत्यु हुनेको संख्या पनि उच्च देखिएको छ । त्यहाँ बिहीबार २ हजार ६३९ संक्रमितको निधन भएको छ । यससँगै हालसम्म ब्राजिलमा कोरोनाका कारण ३ लाख ३ हजार ७२६ जनाले ज्यान गुमाइसकेका छन् ।
यसैगरी त्यहाँ हालसम्म कुल संक्रमित हुनेको संख्या १ करोड २३ लाख २४ हजार ७६५ जना पुगेको वल्र्डोमिटर्सले जनाएको छ । तीमध्ये १ करोड ७ लाख ७२ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भइसकेका छन् भने १२ लाख ४८ हजार ४९० जना सक्रिय संक्रमित रहेका छन् ।
उता, संयुक्त राज्य अमेरिकामा पनि दैनिक संक्रमित एवं मृतकको संख्या बढिरहेकै छ । त्यहाँ बिहीबार एकै दिनमा ६७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने १ हजार १६५ जना संक्रमितको मृत्यु भएको छ ।
यसैगरी भारतमा पनि तीव्र रुपमा कोरोना पुनः फैलन थालेको छ । बिहीबार मात्रै त्यहाँ ५९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने २५७ संक्रमितको ज्यान गएको छ । पछिल्लो समय फ्रान्स, पोल्यान्ड, टर्की, इटाली, जर्मनीलगायत युरोपेली देशमा पनि कोरोनाका सक्रिय संक्रमितहरु बढ्दै गएका छन् ।