धुम्बाराहीमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखियो
धुम्बाराहीको केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित नेकपा एमालेले आज बिहान केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपाको साइनबोर्ड फालेर नेकपा एमालेका बोर्ड राखेको हो ।
सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि एमालेका कार्यकर्ताहरुले विभिन्न जिल्लाहरुका पार्टी कार्यालयहरुमा नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राख्न शुरु गरेका थिए । धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको बताइएको छ ।
नेकपा माओवादी केन्द्रले पनि आजै पेरिसडाँडामा बोर्ड फेर्ने तयारी गरेको छ । यसअघि एकीकरणपछि पार्टी कार्यालयमा रहेको नेकपाको बोर्ड झिकेर एकीकरण पहिलेकै पार्टीको बोर्ड राखिने माओवादी केन्द्रका नेता गणेश शाहले जानकरी दिनुभयो । एकतापछि दुवै ठाउँमा नेकपाका केन्द्रीय कार्यालय रहेको थियो । अब एमालेको केन्द्रीय कार्यालय धुम्बाराही र माओवादी केन्द्रको कार्यालय पूर्ववत् पेरिसडाँडा नै हुने भएको छ ।
२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो । तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्यूँताएको हो ।