नेकपा सरकारको ध्यान भ्रष्टाचारमा : चौरसिया
सर्लाही । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय चौरसियाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा रहेका किसानहरुलाई ऋणमा डुबाएको टिप्पणी गरेका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा कोरोना तथा जाडोबाट प्रभावित दलित परिवारलाई राहत वितरण कार्यक्रमलाई सहभागी भएका चौरसियाले संसद विघटनले सरकारको सम्बन्ध जनता र किसानसँग टुटेको बताए ।
दुइ तिहाइको सरकारले गरिबहरुको हक हितका बारेमा नसोचेको भन्दै कोरोनाबाट पिडित नागरिकलाई व्यवस्थित नगरेको आरोप लगाए । नेकपा सरकारको ध्यान भ्रष्टाचारमा केन्द्रित भएको उनको भनाई छ ।
वरिष्ठ पत्रकार चन्द्रकिशोर झाको पहलमा अष्ट्रेलियामा रहेका नेपालीहरुले बचत गरेर राखेको रकम तराईका दलितहरुलाई प्रदान गरिएको थियो । नेपाल अष्ट्रेलिया प्रजातन्त्रिक मंचद्धारा चमार, दुषाढ, मुसहर लगायतका १ सय २५ दलित परिवारलाई राहत स्वरुप २० किलो चामल, दाल २ किलो, खाने तेल आधा लिटर, नुन १ किलो, नुहाउने साबुन १ पिस लगायतको राहत सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार चन्द्रकिशोर झा, कांगे्रसका महाधिवेशन प्रतिनिधि अशोक कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि सोनेलाल साह, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, प्रदेशका क्षेत्रीय सभापति अनिल कर्ण, वडा नं. २ का वडा सभापति मक्सुद आलम लगायतको उपस्थिति थियो ।