गण्डकीबाट १०९ जना ओली समूहको केन्द्रीय सदस्य थपिए
पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ प्रधानमन्त्री केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्य भएको सार्वजनिक भयो । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिएका जिल्ला अध्यक्षहरुमा कान्छामध्येका थिए ।
अहिलेसम्म कुनै पनि समूहमा नखुलेका गृहमन्त्री बादल पक्षका गैह्रे ओली समूहमा गएपछि को कता हुने हुन् भन्ने चर्चा र चासोसमेत थपिएको छ । लमजुङका जमिन्द्रमान घले ओली समूहकै केन्द्रीय सदस्य बनेका छन् । उनी पहिले माधवकुमार नेपाल समूहका नेताका रुपमा चिनिन्थे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार भएको छुट्टाछुट्टै भेलाले विभाजनको स्पष्ट चित्रमात्रै कोरेन, तल्लो तहसम्म कित्ताकाट समेत गरेको छ ।
जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन्
नेकपाका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक राखेपछि तल्लो तहसम्म पार्टी फुटिसकेको सन्देश पुगेको छ ।
निर्वाचन आयोगमा अहिलेसम्म एउटै पार्टी रहे पनि तल्लो तहमा पार्टी कार्यालय र कसको प्रभाव बढी हुन्छ भन्ने कुरा हेरिरहेका छन् । आफूहरु नै वैधानिक भएको दुवै पक्षले दाबी गरेका छन् । आधारिक पार्टी कुन हो भन्ने छिनोफानो भने अब निर्वाचन आयोगले गर्ने छ ।
प्रधानमन्त्री ओलीले मंगलबार १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी नै घोषणा गरेपछि को कता रहेछन् भन्ने प्रष्ट पारेको कार्यकर्ताले बताएका छन् । वामदेव पक्षधर मानिएकी पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारी पत्नी प्रतिनिधि सभा सांसद विद्या भट्टराई पनि ओली समूहको नयाँ केन्द्रीय सदस्य बनेकी छन् ।
‘पार्टी विभाजनको पक्षमा म जान सक्दिनँ । मेरो जहाँ नाम आएको छ, मेरो लाइन त्यतै नै हो,’ भट्टराईले भनिन् । प्राप्त सूचनाअनुसार ओली समूहको थपिने नयाँ केन्द्रीय सदस्यमा गण्डकी प्रदेशका १ सय ९ जना छन् । जिल्ला तहका थुप्रै नेता केन्द्रीय सदस्य बनेका छन् भने केही अर्को गुटका भनिएका नेता पनि ओली पक्षमा देखिएका छन् ।
स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अर्का स्थायी समिति सदस्य तथा गण्डकीका अर्थमन्त्री किरण गुरुङ, केन्द्रीय सदस्य खगराज अधिकारी, संघीय खेलकुदमन्त्री जगत विश्वकर्मा, पोखराका मेयर मानबहादुर जिसी, भीम कार्की लगायत पहिलेदेखि नै ओली समूहमा छन् ।
पहिलेदेखि नै ओली समूहको प्रभाव बढी रहेको गण्डकी प्रदेशमा उनीहरुका कारण पनि थप सदस्य थपिने अनुमान छ । ‘लिस्ट तलमाथि हुने क्रम जारी छ । गण्डकी प्रदेशमा धेरै जना प्रचण्ड–नेपाल समूहबाट ओली समूहमा हुनुहुनेछ,’ नेकपा गण्डकीका सचिव गोविन्द नेपालीले भने ।
बुधबार हुने प्रदेशस्तरीय भेलाले थप निर्णय र निर्क्योल गर्ने सचिव नेपालीको भनाइ छ । गण्डकी प्रदेशमा ओली समूहको नयाँ केन्द्रीय सदस्य बन्नेमा कास्कीका सबैभन्दा धेरै छन् । कास्कीबाट २६ जना ओली समूहका केन्द्रीय सदस्य थपिएका छन् ।