गंगामाया अधिकारीले फेरि शुरु गरिन् आमरण अनशन
छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग राखेर गंगामाया अधिकारीले फेरि आमरण अनशन शुरू गरेकी छिन्। उनले सोमबारदेखि वीर अस्पतालको ट्रमा सेन्टरमा अनशन शुरू गरेकी हुन्।
गंगामायाले छोराको हत्यामा संलग्नलाई कारवाहीको माग राखेर संघर्ष थालेको नौ वर्ष भइसकेका छ। आफूहरूविरुद्ध सुराकी गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले उनका १७ वर्षीय छोरा कृष्णप्रसादलाई २४ जेठ २०६१ मा चितवनको बकुल्लर चोकमा हत्या गरेका थिए।
छोराको हत्यामा संलग्नलाई कारबाही माग गर्दै गंगामाया र उनका पति नन्दप्रसादले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूमा उजुरी दिएका थिए। साथै चितवन जिल्ला प्रहरी कार्यलयमा छविलाल पौडेल, जानुका पौडेल, मेघनाथ पौडेल, विष्णु तिवारी, सुभद्रा तिवारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमाल अधिकारी, रामप्रसाद अधिकारी, भीमसेन पौडेल र परशुराम पौडेलविरुद्ध उजुरी दर्ता गराएका थिए। तर, कुनै कारवाही नभएपछि २८ साउन २०७० देखि अधिकारी दम्पतीले आमरण अनशन थालेका थिए।
३० चैत २०७० मा छविलाल पौडेल तथा अन्य १३ जनाका विरूद्ध कृष्णप्रसादको हत्याको आरोपमा अभियोजन गरिएको थियो। प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्ने चितवन जिल्ला अदालतको फैसलालाई तत्कालीन पुनरावेदन अदालत हेटौंडाले सदर गरेपछि गंगामायाले १३ असार २०७२ मा सर्वोच्च अदालतमा त्यसविरुद्ध पुनरावेदन दिइन्।
त्यसै वर्षको ६ पुसमा सर्वोच्च अदालतले छविलाल पौडेललाई न्यायिक हिरासतमा लिन आदेश दियो। तर, छविलाल पक्राउ नपरेपछि २०७५ सालमा गंगामाया आमरण अनशनमा बसिन्। ४८ दिनको आमरण अनशनपछि २५ असार २०७५ मा छविलालले सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरे। उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।
चितवन जिल्ला अदालतले फरार रहेका रुद्र आचार्य (हाल नर्दन आयरल्याण्डमा बस्दै आएका) बाहेक सबै प्रतिवादीलाई २४ भदौ २०७५ मा सफाइ दियो। १८ भदौ २०७६ मा उनले पाटन उच्च अदालतको हेटौंडा इजलासमा जिल्लाको फसलाविरूद्ध पुनरावेदन दिइन् र २५ कात्तिक २०७६ मा हेटौडा इजलासले प्रतिवादीहरूलाई हाजिर हुने आदेश दियो। तर, अहिलेसम्म थप सुनुवाइ हुनसकेको छैन।
आमरण अनशनको ३३४ औं दिनमा ६ वर्षअघि ६ असोजमा उनका पति नन्दप्रसादको निधन भएको थियो। उनको शव अहिले पनि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बाकस नं ४ मा राखिएको छ। गंगामायाले आफूले न्याय नपाउन्जेलसम्म पतिको पार्थिव शरीरको अन्तिम संस्कार नगर्ने प्रतिज्ञा गरेकी छन्।