सर्वोच्च अदालतले सिरानचोक गाउँपालिकाको कार्यालय छोप्राक मैदान बजारमै कायम राख्न आदेश दिएपनि कार्यान्वयन नभएको भन्दै सोमबार स्थानीयले विरोध र्याली निकालेका हुन् ।
गोरखाको सिरानचोक गाउँपालिकाको छोप्राकमा स्थानीयले विरोध र्याली निकालेका छन् । सर्वोच्च अदालतले सिरानचोक गाउँपालिकाको कार्यालय छोप्राक मैदान बजारमै कायम राख्न आदेश दिएपनि कार्यान्वयन नभएको भन्दै सोमबार स्थानीयले विरोध र्याली निकालेका हुन् ।
करिब ४ हप्ता अगाडी पुरानै भवन (वडा ५ को भवन) मा गाउँपालिका अध्यक्ष र प्रशासकिय अधिकृतको लागि कोठा छुट्टायाएको तर त्यहाँ बाट कुनै पनि काम कारबाही भने नगरिएको स्थानीयले बताए ।
उता गाउँपालिका अध्यक्ष राजु गुरुङले पुरानै स्थानबाट सेवा दिइरहेको र चित्रेमा कार्यालय विस्तारमात्र गरिएको भनी सर्वोच्चलाई प्रतिउत्तर लेखी पठाएको स्रोतले बताएको छ । सोही प्रमाणित गर्न अध्यक्षको कार्यकक्ष पुरानै भवनमा राखिएपनि सेवासुविधाको लागि भने स्थानीय चित्रे नै पुग्नुपर्छ ।
कार्यपालिका बैठकबाट गाउँपालिका कार्यालय सिरानचोक ५ चित्रेमा सार्ने निर्णय विरुद्ध अदालतमा रिट परेपछि तत्काल पूर्ववत् स्थानबाट कार्य सम्पादन गर्नु भन्ने अन्तरिम आदेश दिएपछि छोप्राकमै कार्यालय ल्याउन स्थानीयले पहल गरेका थिए । असोज २७ गते सर्वोच्चको अन्तरिम आदेश आएपनि लामो समयसम्म गाउँपालिकाले कार्यलय चित्रे मै राखेको थियो ।
बेला बेलामा प्रशासकिय अधिकृत र गाउँपालिका अध्यक्ष आएर सो कोठामा बस्ने गरेपनि कागजी काम सबै चित्रेबाटै हुने गरेको वडा ५ को अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । आफूहरुले पनि अध्यक्षको कार्यकक्ष भनेर लेखेको बोर्ड देखेपनि सधैं अध्यक्ष गुरुङ बाहिर भनेर मात्र झुण्डाइने गरेको वडा ४ को अध्यक्ष दिपक हमालले हाम्रो खबरलाई बताए । आज स्थानीयले समेत विरोध र्याली निकालेपछि मैले पनि गएर कार्यकक्षमा हेरे, त्यहा त कुर्सीमात्र छ अन्य कागजात केही छैन हमालले भने यो त सर्वोच्चलाई गुमराहमा राख्नको लागि रचिएको जाल हो, सेवाग्राहीलाइ दुख दिने नियत ।
यससम्बन्धमा सर्वोच्चमा पुस ८ गते पेशी छ । गाउँपालिका अध्यक्षलाई यसबारे बुझ्न सम्पर्क गर्दा फोन उठाएनन् ।