बालुवाटारमा तानाशाही गुट बस्छ: झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) पक्षका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटारमा तानाशाही गुट बस्ने बताएका छन्।
बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छ। खनालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै ओलीजस्तै तानाशाहका विरूद्ध सडकमा आउन आफूहरू बाध्य भएको पनि बताए।
‘सडकमा आउने हाम्रो रहर होइन। ओलीजस्तो तानाशाहविरूद्ध सडकमा आउन हामी बाध्य भयौं,’ प्रतिनिधि सभा विघटनविरूद्ध भृकुटीमण्डपमा आज भएको विरोध सभामा बोल्दै खनालले भने, ‘यो सरकारले जनमतको घात गरेको छ। तर अब बिजय नेकपाको हो।’
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेर लोकतन्त्रमाथि हमला गरेको पनि खनालले बताए। ‘लोकतन्त्रमाथि हमला भएको छ। आधिकारिक पार्टी हाम्रो हो। नेकपा हाम्रो हो,’ उनले भने।
खनालले सूर्य चिन्ह आफूहरूको भएको पनि दाबी गरेका छन्। ‘बालुवाटार पुगेपछि ओलीले पार्टी बिर्सनुभयो,’ उनले भने। ओलीले गफ गरेर यतिका समय बिताएको पनि खनालको भनाइ छ।
‘जनताका घरमा पाइपलाइनबाट ग्यास पुगेन। मरिचमान श्रेष्ठले जति पनि काम गर्नुभएन,’ उनले भने, ‘धरहरा, रानीपोखरी ओलीले होइन कालिगढले बनाएका हुन्।’