कोरोना भाइरस नेपाल: गत २४ घण्टामा ७२२ कोरोनाभाइरस सङ्क्रमित थपिए, तीनजनाको मृत्यु
नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको औपचारिक कुल सङ्ख्या १,७९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
तर शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाले भने पुष ६ गतेसम्ममा कोभिड-१९ सँग सम्बन्धित २,७४७ वटा शव व्यवस्थापन गरिसकेको जनाएको छ।
त्यसको अर्थ स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्याङ्कमा ९४९ जनाको सङ्ख्या फरक परेको छ।
नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाली सेनाले कोभिड-१९ सम्बन्धी शव व्यवस्थापन कार्यविधिमा कोभिड - १९ को प्रमाणपत्र र अस्पताल वा स्वास्थ्य निकायले दिने मृत्यु भएको प्रमाणपत्र भएपछि जिल्लास्थित सीसीएमसीको अनुरोधमा शव व्यवस्थापन गर्दै आएको छ।