प्रचण्डलाई भेट्न खुमलटार ओली जाँदै
पार्टीभित्रको आन्तरिक दबाब झेलिरहेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार जाने भएका छन् ।
पार्टीमा आन्तरिक विवाद चर्किरहेका बेला ओली दाहाललाई भेट्न खुमलटार जानुलाई निकै चासोका साथ हेरिएको छ ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक नेकपा अध्यक्ष समेत रहनुभएका ओली अर्का अध्यक्ष दाहाललाई भेट्न उहाँकै निवासमा जान लागेका हुन् । प्रधानमन्त्री ओली जाने भएपछि खुमलटार क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी ‘अलर्टमा’ राखिएको छ ।
नेपाल समूहले शुक्रबार मात्रै प्रदेश १ को भेला गरेर पार्टी विभाजन हुनसक्ने सम्भावना रहेको बताएपछि ओली शनिवार विहान प्रचण्ड निवास खुमलटार जान लागेका हुन् ।
शुक्रबार मात्रै दाहाल – नेपाल समूहले पेरिसडाँडामा प्रदेश एकका जिल्ला अध्यक्ष र सचिवहरुको भेला आयोजना गरेका थिए । माधव कुमार नेपाल र प्रचण्ड समूहले जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा प्रदेश – १ का आफूनिकट जिल्ला अध्यक्ष, सचिव र केन्द्रीय सदस्यहरूको भेलामा संगठित विरोधमा उत्रिन निर्देशन दिएका थिए।