सगरमाथाको उचाइ ८८४८.८६
सगरमाथा नेपाल र नेपालीलाई विश्वमा चिनाउने प्रतीक हो। यसअघि ८ हजार ८ सय ४८ मिटर उचाइ मानिने यो चुचुरो पृथ्वीको सबैभन्दा अग्लो ठाउँ हो।
देशको पहिचान भए पनि अहिलेसम्म नेपालले सगरमाथाको उचाइ नापेको थिएन।
सन् १९५४ मा 'सर्भे अफ इन्डिया' ले सगरमाथाको उचाइ नापेको थियो। त्यसयता पनि विभिन्न संस्थाहरूले विभिन्न समयमा सगरमाथाको उचाइ नापे पनि 'सर्भे अफ इन्डिया' ले मापन गरेको उचाइलाई नै अहिलेसम्म आधिकारिक मानिन्थ्यो।
अब भने नेपालले आफ्नै स्रोत, साधन र जनशक्तिले नापेर सगरमाथाको उचाइ सार्वजनिक गरेको छ।
मंगलबार आयोजित विशेष कार्यक्रममा नेपाल र उत्तरी छिमेकी चीनका अधिकारीहरूले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरहेका हुन्। अब सगरमाथाको उचाइ ८८४८.८६ भएको छ। विभागका प्रवक्ता दामोदर ढकालका अनुसार नेपालले लगभग दुई वर्षको अवधि खर्चेर आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नापेको हो। जसका लागि झन्डै १३ करोड रुपैयाँ खर्च भएको ढकालले जानकारी दिए।
२०७२ सालको भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा सुरू भएपछि नेपालले आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ नाप्ने घोषणा गरेको थियो।