राष्ट्रपति फेरिने बेलामा मृत्युदण्डको सजाय कार्यान्वयन नगर्ने १३० वर्ष पुरानो परम्परा भङ्ग
अमेरिकाको सर्वोच्च अदालतले अन्तिम समयमा एउटा मुद्दाको सुनुवाइ अस्वीकार गरेपछि इन्डियाना राज्यमा ब्र्यान्डन बर्नार्डलाई मृत्युदण्ड दिइयो।
राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल सकिनै लाग्दा कार्यान्वयन गरिएको मृत्युदण्डको उक्त फैसला सङ्घीय सरकारको त्यस्तै अन्य योजनालाई मूर्त रूप दिने योजनाको सङ्केत हुनसक्छ।
जो बाइडनले ज्यानुअरी २० मा राष्ट्रपतिको पदभार ग्रहण गर्नुअघि थप चारवटा मृत्युदण्ड कार्यान्वयन गर्ने ट्रम्प प्रशासनको तयारी छ। यसबाट राष्ट्रपति परिवर्तन हुने बेला त्यस्तो फैसला कार्यान्वयन रोकिने १३० वर्ष पुरानो नजिर तोडिदिएको छ।
ती सबै योजना कार्यान्वयन गरिए मृत्युदण्ड दिने सन्दर्भमा ट्रम्प एक शताब्दीमा अमेरिकामा सबैभन्दा सफल राष्ट्रपति बन्नेछन्। यो वर्षको जुलाई महिनायता मात्रै १३ जनाले मृत्युदण्ड पाउनेछन्।
चालीस वर्षीय ब्र्यान्डनमाथि सन् १९९९ मा हत्याको अभियोग लगाइएको थियो। सत्तरी वर्षयता सङ्घीय सरकारले मृत्युदण्ड दिएको उनी सबैभन्दा कान्छा अपराधी हुन्। घातक सुई लगाइनुअघि उनले आफूले हत्या गरेका दम्पतीका परिवारसँग क्षमायाचना गरेका थिए।
महान्यायाधिवक्ता विलियम बारले आफूहरूले विद्यमान कानुनको कार्यान्वयन गरेको बताएका छन्।
तर आलोचकहरूले भने मृत्युदण्ड दिने प्रचलनको अन्त्य गर्ने बताउँदै आएका बाइडनले पदभार ग्रहण गर्नुभन्दा केही हप्ता मात्रैअघि यस्तो कदम चालिनु चिन्ताजनक रहेको टिप्पणी गरेका छन्।
स्थानीय समयानुसार राति ९:२७ बजे बर्नार्डको मृत्यु भएको घोषणा गरिएको थियो। त्यसअघि उनले आफ्नो अन्तिम शब्द पीडितका परिवारलाई समर्पित गरेका थिए। उनले तीन मिनेटभन्दा बढी बोले।
"मलाई माफ गरिदिनूस्। यो नै त्यस्तो शब्द हो जसले मैले अहिले के सोचिरहेको छु र त्यस दिन मैले कस्तो महसुस गरिरहेको थिएँ भन्ने कुरा दर्साउँछ।" एउटा समाचार संस्थाका अनुसार उनले यसो भनेका थिए।
बर्नार्डका वकिलले सर्वोच्च अदालत गुहारेसँगै उनको सजाय कार्यान्वयन गर्ने दुई घण्टाभन्दा बढी विलम्ब गरिएको थियो।