भारतीय विदेश सचिव : नेपाल र भारत अलग-अलग हिड्न नसक्ने, सहकार्य आवश्यक
भारतीय विदेशसचिव हर्षबर्धन श्रृंगलाले नेपाल र भारत मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेपालको औपचारिक भ्रमणको दोस्रो दिन एआइडीआइए नामक चिन्तन प्रतिष्ठानद्वारा आयोजित प्रवचनमा शुक्रबार श्रृंगलाले दक्षिण एसियामा कुनै पनि मुलुक एक्लै अघि बढ्न नसक्ने बताउँदै दुवै देशको सरकारले भावी पुस्ताप्रति जवाफदेही भएर सशक्त सहकार्य गर्नुपर्ने बताएका हुन् ।
सरकारको नेतृत्वमा आएदेखि नै भारतीय प्रधानमन्त्री मोदीले छिमेक सम्बन्धलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ । श्रृंगलाले भारतले प्रधानमन्त्री मोदीको नेतृत्वमा ‘सबका साथ, सबका विकास र सबका विश्वास’ भन्दै भारतलाई मध्य आर्थिक आर्जन गर्ने मुलुकका रूपमा पुर्याउने सपना देखेको बताए ।
नेपालको पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य रहेको जनाउँदै उनले दुवै मुलुकका राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एकअर्काको आवश्यकता पर्नेमा जोड दिएका थिए । कार्यक्रममा विदेशसचिव श्रृंगलाले नेपाल र भारतबीच सीमालगायतका समस्याबारे भने कुनै पनि धारणा सार्वजनिक गरेनन् ।
उनले नेपाललाई छिमेकी र मित्रका रूपमा भारतले संकटमा सधैँ साथ दिएको भन्दै भूकम्पपछि भारतले गरेको सहयोगको पनि स्मरण गरेका थिए । विदेशसचिव श्रृंगला औपचारिक भ्रमण सकेर आज शुक्रबार दिल्ली फर्किँदै छन् ।