भारतीय नागरिकसहित दुई कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमित भारतीय नागरिकसहित दुई जना वृद्ध पुरुषको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। मोरङका कोभिड अस्पतालमा उपचाररत ७० वर्षीय भारतीय नागरिक र झापा गौरादहका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो।
भारतीय नागरिकको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र झापाका पुरुषको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो। भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको बिहान ६:५० बजेतिर ज्यान गएको विराट शिक्षण अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए।
कोरोनाका कारण नेपाल–भारत सीमा क्षेत्रबाट लामो समयदेखि आवतजावत गर्न रोक लगाएर नाका सिल गरिएको छ। तर यस्तो अवस्थामा उनी कसरी नेपाल आइपुगे भन्ने खुल्न सकेको छैन।प्रहरीले कुनै ठाउँमा कामदारका रुपमा नेपाल छिरेका उनको कोरोना संक्रमणका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। तर प्रहरीले उनले नेपाल छिरेर के गरिरहेका थिए भन्ने बारेमा पत्ता लागि नसकेको जनाएको छ। बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो। मृतकमा स्वास्थ्य सम्बन्धी कुनै पुरानो समस्या थियो कि थिएन भन्ने यकिन भइनसकेको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले बताए। उनका अनुसार भारतीय नागरिकको मृत्यु भएपछि शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने काम भइरहेको छ।
कोरोना संक्रमण पुष्टि भएपछि मोरङको कोभिड अस्पतालमा उपचाररत विदेशी नागरिकको मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि संखुवासभामा निर्माणाधिन अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत अर्का भारतीय नागरिकको विराटनगरकै नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो।भारत हैदरावादका ४५ वर्षीय पुरुषको कात्तिक २९ गते मृत्यु भएको हो। बिरामी परेपछि उपचारका लागि नोबेल शिक्षण अस्पताल ल्याइएका उनलाई कात्तिक २७ गते कोरोना पुष्टि भएको थियो। मृत्युपछि भारतीय पक्षले शव लैजान नदिँदा उनको विराटनगरको परोपकार घाटमा अन्त्येष्टि गरिएको थियो।
त्यस्तै झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७:३० बजेतिर मृत्यु भएको छ। अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो।पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएपछि थप उपचार सुरु गरिएको दाहालले बताए। उपचारकै क्रममा वृद्धको मृत्यु भएपछि शव व्यवस्थापनका लागि पहल भइरहेको उनको भनाइ छ।