बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा पश्चिम दाङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
दुर्घटनामा परी घाइते भएका बबई गाउँपालिका वडा नं.६ कट्कुँइयाका ४६ वर्षीय चित्रबहादुर डाँगीको मृत्यु भएको हो।
मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ४० वर्षीय मानबहादुर देवकोटा घाइते छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक झलक शर्माका अनुसार मोटरसाइकल चालक डाँगीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।
बुधबार बिहान साढे ९ बजेतिर बबई गाउँपालिका ७ मठेउरीदेखि तुलसीपुरतर्फ आउँदै गरेको ना ३ ख ६३१० नम्बरको यात्रुवाहक बसमा सोही दिशातर्फ आउँदै गरेको रा ४ प ४८६ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरी प्रवक्ता शर्माले बताए।
‘बस यात्रु चढाउनका लागि रोकिराखेको रहेछ, त्यसमै पछाडिबाट आएर मोटरसाइकल ठोक्किएर दुर्घटना भएको भन्ने छ,’ प्रहरी निरीक्षक शर्माले भने।
घाइते देवकोटालाई तुलसीपुरको प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको शर्माले बताए। बस र चालकलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले बताएको छ।