अमेरिकी स्वास्थ्य विभाग : अमेरिकामा केही सातामै कोरोना खोप उपलब्ध हुनसक्छ
अमेरिकी स्वास्थ्य विभागले आगामी दुई सातामा कोरोना भाइरसविरुद्धका दुई खोपहरू आधिकारिक हुने र वितरणका लागि तयार हुनसक्ने जनाएको छ । बीबीसी उत्तर अमेरिकी संवाददाता पिटर बोजले यसबारे जानकारी दिएका हुन् ।
अमेरिकी औषधि कम्पनी फाइजर र यसका साझेदार जर्मन कम्पनी बायोनटेकले आगामी दिनमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ भ्याक्सिनको आपतकालीन प्रयोगको लागि अनुमतिको लागि आवेदन मागेका छन् । ४० हजार भन्दा बढी मानिसहरुमा गरिएको परीक्षण अनुसार उक्त खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको र यसको कुनै गम्भीर नकारात्मक प्रभाव नरहेको फाइजरले दाबी गरेको छ ।
बायोटेकका सीईओका अनुसार यो खोप सशर्त यूरोपियन युनियनमा डिसेम्बर बीचमा स्वीकृत हुनसक्ने छ । यस बाहेक अमेरिकी औषधि कम्पनी माडर्नाले आफ्नो खोप पनि त्यस्तै प्रभावकारी रहेको जनाएको छ । उक्त कम्पनीका अनुसार सो खोप पनि यस वर्षको अन्त्यतिर उपलब्ध हुनेछ । वर्डोमिटर्सका अनुसार हालसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २ लाख ५६ हजार ३११ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या १ करोड १८ लाख ७६ हजार २४० पुगेको छ ।
जसमध्ये ७१ लख ६८ हजार ४८२ संक्रमितहरु उपचार डिस्चार्ज भइसकेका छन् । हाल अमेरिकामा ४४ लाख ५१ हजार ४४७ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् ।