कोरोना कहरले बिर्साएको ऐतिहासिक सुर्मादेवी मेला
विगतका वर्षमा कोजाग्रत पूर्णिमाका दिनदेखि चैनपुरमा सुर्मादेवी (शिलदेवी) मेला हेर्न आउनेको चहलपहल सुरु हुन्थ्यो । मेलाकै अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले आफ्ना सन्देशसहितका ब्यानरले सदरमुकाम चैनपुरलाई दुलहीझैँ सजाइएको देखिन्थ्यो । बजारमा लुगाकपडा, बालबालिकाका खेलौना, सडक छेउमा मिठाइ पसल हुन्थेँ ।
गाउँघरमा कामको चाप र कोरोना त्रासले गर्दा यस वर्ष सुर्मादेवी मेला मनाउन न बझाङबासीलाई जाँगर चल्यो नत आयोजकलाई नै । आज प्रतिपदाका दिन सबै जना मेला सकेर घर फर्किने दिन हो । वर्षेनी बडादशैँपछि कोजाग्रत पूर्णिमाका दिनमा लाग्ने यो मेलामा सुर्मा मन्दिरमा पूजाआजा गर्नुका साथै महिला पुरुषका डेउडा खेल, भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमको आयोजना गरी धुमधामका साथ तीन दिनसम्म मनाइने गरिन्छ । ‘यस पटक कोरोनाको त्रासले बजार आउन मन लागेन, घरकै काममा व्यस्त भइयो,’ जयपृथ्वी नगरपालिका- ११ का देउडा गायक जनक थापाले भने ।
दुर्गाथली-४ बिजडाका शिक्षक चन्द्र रोकाया पनि यस वर्ष कोरोनाका कारण शिलदेवी मेलाबारे आफू बेखर रहेको बताउँछन् । उनले भने, ‘मेलाबारे प्रचारप्रसार पनि सुनिनँ । प्रशासनले मेला मनाउने/नमनाउने केही पनि सूचना दिएन । गाउँघरमा गहुँ छर्ने समय छ । हामी त काममै व्यस्त थियौँ, केही थाहा भएन । आज मेलाबाट फर्कने दिन रहेछ । अहिले थाहा पाएँ ।’
जयपृथ्वी नगरपालिका-४ का तोरण उपाध्यायले पनि हिजो पूर्णिमा रहेछ भन्दै मेलाबारे जानकारी नभएको आशय व्यक्त गरे । कोजाग्रत पूर्णिमाको दिनबाट सुरु हुने यो मेला जिल्लाको प्रसिद्ध र प्रमुख मेलामा रूपमा मानिन्छ । पछिल्लो समय मेलालाई व्यवस्थित गर्न महिला-महिला, पुरुष-पुरुष र महिला-पुरुषबीच डेउडा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, सडक नाटक गर्ने गरिएको छ ।,
शिलदेवी मेलामा छिमेकी जिल्ला बाजुरा, बैतडी, अछाम, डोटी, डडेल्धुराबाटसमेत भक्तजन र देउडा खेलाडी आउँछन् ।