सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तोडफोड
सिराहाको लहान नगरपालिका– ३ स्थित डिभाइन हेल्थ केयर अस्पतालमा शनिबार राति सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका छन् ।
शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएपछि सिराहाको सुखीपुर नगरपालिका– ९ मोहनपुरकी २७ वर्षीया आरतीकुमारी साहको शनिबार साँझ करिब ८ बजे मृत्यु भएको हो । दोस्रो बच्चा जन्माउन अस्पताल आएकी आरतीलाई अस्पताल सञ्चालकसमेत रहेका डा. चन्द्रशेखर यादवले शल्यक्रिया गरेको आरतीका पति प्रमोदकुमार साहले बताए।
‘शल्यक्रिया गरेर छोरी निकालेपछि राति साढे ७ बजेसम्म डाक्टरले बिरामी ठीकै छ भनेका थिए,’ उनले भने, ‘त्यसपछि डा. यादवसहित अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरू एक–एक गरी ९ बजेभित्रै सबै निस्किए ।’
नवजात शिशुको आइसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनका अनुसार अस्पताल नै सुनसान भएपछि राति सवा ८ बजेतिर तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा गएर हेर्दा ढोका बन्द थियो । शल्यक्रिया गर्ने क्रममा आरतीको मृत्यु भएपछि मृतकलाई त्यत्तिकै छोडेर डाक्डरसहित सबै एक–एक गरी भागेका थिए ।
‘छोरीलाई सरकारी अस्पतालमा लैजाने भनेर एम्बुलेन्समा ल्याउँदै थियौँ,’ मृतकका बाबु परशुराम साहले रुँदै भने, ‘एम्बुलेन्सचालकले राम्रो हुन्छ भन्दै यो अस्पताल पुऱ्याएर शल्यक्रियाको नाममा हत्या गरे ।’ लहान नगरपालिका– २४ माइती भएकी मृतक आरती परशुरामकी एक्ली छोरी हुन् ।
शल्यक्रियापछि अत्यधिक रक्तस्रावका कारण सुत्केरीको मृत्यु भएलगत्तै अस्पताल सञ्चालकसहित सबैजना राति नै भोगेपछि मृतकका आफन्त र स्थानीयले अस्पताल तोडफोड गरेका छन् । साथै आइतबार बिहान ८ बजेदेखि पूर्व–पश्चिम सडकअन्तर्गत लहानको अस्पताल चोक खण्डमा चक्काजाम गरेका छन् । हत्यारालाई कारबाही गर, अवैध अस्पताल बन्द गर’ लगायतका नारा नगाउँदै चक्काजाम गरेका छन् ।
अस्पतालको मुख्य गेडमै रहेको फार्मेसीमा रहेका औषधि, फर्निचरलगायतका सामग्रीहरू फाल्दै सटरभित्र हालिएको सिसा तोडफोड गरिएको छ । मृतकको शव अस्पतालको तेस्रो तलामा रहेको शल्यक्रिया कक्षमा ताला लगाएर राखिएको छ । अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।