जागिर छोडेर व्यावसायिक च्याउ खेती
कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका मनोज पडाल जागिरे जीवन बिताइरहेका थिए ।
२०६०/६१ पछि पडालले स्थानीय हरिहर बोर्डिङ स्कुल र बोराडाँडीकै त्रिभुवन माविमा गरेर झण्डै ६ वर्ष अध्यापन गराए । शिक्षण पेसापछि उनले गुडनेभर्स नामक गैरसरकारी संस्थामा पनि काम गर्ने अवसर पाए । उनले संस्थामा साढे तीन वर्षभन्दा बढी समय बिताए ।
संस्थामा काम गर्दै गर्दा उनले अरूलाई आय–आर्जनमूलक काम गरेर स्वरोजगार बन्न सिकाए । संस्थामा राम्रै पारिश्रमिकमा काम गरिरहेका पडालको मनमा त्यही क्रममा नयाँ योजना फुर्यो । जागिरे अवधिमा अरूलाई आय–आर्जनमूलक काम गरी आफैं स्वरोजगार बन्नुपर्छ भनेर सिकाउँदै आएका पडालले अन्तिममा आफैं च्याउ खेतीतर्फ लाग्ने योजना बनाए ।
योजनालाई साकार रुप दिन गैरसरकारी संस्थाको राम्रो जागिर छोडेर च्याउ खेती सुरु गरे । अरूलाई सिकाउँदा सिकाउँदै च्याउ खेतीमा केही सम्भावना देखेर यसतर्फ लागेको उनी बताउँछन् ।
२०७० मा डेढ लाखको सानो लगानीमा एक घरबाट च्याउ खेती सुरु गरेका पडालले ६ वर्षको अवधिमा अहिले च्याउ खेतीका पाँचवटा ब्लग नै स्थापना गरिसकेका छन् । एक ब्लगमा झण्डै च्याउका २ हजार ब्याग (पोका) राख्ने गरेका छन् । यसको अर्थ उनले १ वर्षमा १२ हजारभन्दा बढी च्याउका पोका उत्पादन गरेर बजारमा पुर्याउने गरेका छन् ।
उनले केही आफ्नो र केही जग्गा भाडामा लिएर च्याउ खेती गरिरहेका छन् । तराई क्षेत्रमा गर्मीका कारण बाह्रै महिना च्याउ खेती गर्न नसकिने भएकाले उनले खानीडाँडामा पनि च्याउ ब्याग सञ्चालन गरेका हुन् । यस वर्ष भने उनले चुरे पहाडमा व्यवसायी सुरु गर्न सकेनन् । धनगढीमा उत्पादन गरेको च्याउ समेत उनले बिक्री गर्न सकेनन् । उनले झण्डै १२ लाख सम्मको घाटा बेहोर्नुपर्यो ।
च्याउ खेती सुरु गरेको दुई वर्षपछि उनले फारवेस्टर्न एग्रो फर्म नै दर्ता गरेर व्यवसायलाई थप उचाइ दिए । उनले बाह्रै महिना च्याउ उत्पादन गरिरहेका छन् । तर, उनले अझै पनि बजारको मागअनुसार च्याउ पुर्याउन सकेका छैनन् ।
जागिरे जीवन त्यागेर आफैं उद्यमी बनेका पडालले अहिले १४ जनालाई जागिरको अवसरमा पनि दिएका छन् ।
डेढ लाखबाट सुरु गरेको उनको च्याउ खेतीको लगानी अहिले झण्डै ६० लाखसम्म पुगिसकेको छ । उनले अहिले च्याउ खेतीबाट करिब वार्षिक १२ लाख रुपैयाँसम्म आम्दानी गरिरेहका छन् । ‘जागिरबाट जति सन्तुष्टि मिल्थ्यो, त्योभन्दा कैयौं गुणा आफैंले गरेको कामबाट मिलिरहेको छ,’ उनले भने, ‘पहिलेदेखि नै आफैं केही गर्नुपर्छ भन्ने भावनाबाट नै जागिर छोडेर यतातिर लागियो ।’ उनले सञ्चालन गरेको च्याउ फर्मको बिमा पनि गरेका छन् । यसले उनले यो व्यवसायलाई सुरक्षित पनि बनाएको छ । उनले हरेक वर्ष आफ्नो व्यवसायलाई अपग्रेट गर्दै लिएका छन् । ‘यस अघिका वर्ष हातले पानी हाल्ने गरेको थिएँ,’ उनले भने, ‘यस वर्ष पानी हाल्न पनि सिँचाइ प्रयोग गर्ने गरेको छु ।’ उनको च्याउ खेतीबाट धेरैले रोजगार समेत पाएका छन् । उनको च्याउ फर्मबाट धेरैले ज्ञान समेत लिने गरेका छन् । ‘मेरो उत्पादन गरेको च्याउ देखेर धेरै किसान बारीमा नै अवलोकन गर्न पुग्छन्’, उनले भने, ‘च्याउ खेतीका बारेमा किसानलाई निःशुल्क जानकारी समेत दिने गरेको छु ।’