रोल्पामा जीपको ठक्करबाट एकको मृत्यु, दुई घाइते
रोल्पामा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन्। घाइते सुनिलस्मृति गाउँपालिका वडा नं. ०८ अरेसका ४६ वर्षीय राहुल मगरको उपचारका क्रममा मृत्यु भएको हो।
प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचारपछि थप उपचारको लागि बुटवलतर्फ लैजाँदै गर्दा बिहीबार राति साढे १ बजेतिर बाटोमा नै मृत्यु भएको रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
जीपको ठक्करबाट ६ वर्षीय बालक राजेन्द्र पुन र वर्षीया ३५ रिमा पुन पनि घाइते भएका छन्। nउनीहरुलाई प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरको प्रारम्भिक उपचारपछि थप उपचारको लागि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक सहदेव डाँगीले सेतोपाटीलाई बताए।
घाइतेमध्ये रिमाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। राहुल रिमाका दाजु हुन् भने ६ वर्षीय राजेन्द्र पुन रिमाका नाति रहेको डाँगीले जानकारी दिए।
जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. ८ तल्लोपानीस्थित सुलिचौर (अरेश भित्री सडक खण्डमा) लु १ ज ३०७० नम्बरको जीपले उनलाई बुधबार बेलुका साढे ८ बजेतिर ठक्कर दिएको थियो। घुम्तीमा हिँडिरहेका उनीहरूलाई जीपले ठक्कर दिएको थियो।
‘जीपको लाइट पनि कमजोर रहेछ,’ प्रहरी निरीक्षक डाँगीले भने, ‘चालकले मैले पैदल हिँडिरहेका उनीहरूलाई देखिनँ भन्ने बयान गरेका छन्।’ जीप र चालक प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।