प्रधानमन्त्री ओली साढे ५ घण्टाका लागि किमाथांकामा
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको संखुवासभाको सीमा किमाथांका पुग्नु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल लगायतलाई लिएर चीनसँगको सीमा जोडिएको क्षेत्रमा प्रधानमन्त्री ओली जानुभएको हो ।
संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिनुभयो ।
बुधबार ९ बजे सेनाको हेलिकोप्टरबाट संखुवासभा जानुभएका प्रधानमन्त्री ओली आजै काठमाडौं फिर्ता आउने कार्यक्रम रहेको छ । भ्रमण दलमा संखुवासभाबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि रहनु भएको छ ।
किमाथांकामा बहालवाला प्रधानमन्त्री पहिलोपटक गएको र यो क्षेत्रको विकासका लागि प्रधानमन्त्री ओलीको भ्रमण महत्वपूर्ण रहेको बताइएको छ । गत फागुनमा दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलोपटक प्रधानमन्त्री ओली काठमाडौं उपत्यकाबाहिर गएको बजगाईंको भनाइ छ ।