राजधानी दाङ सार्न खोजेकोमा कांग्रेसले प्रदेश सभामा विरोध गर्यो, बैठक स्थगित
प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ सार्ने प्रस्तावका विरूद्धमा विपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे।
‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो?,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले भन्दैमा मुख्यमन्त्रीले राजधानी सार्न खोजेको उनको आरोप छ।‘केपी ओलीको बुइँमा चढेर राजधानी सार्न खोजियो यो आपत्तिपूर्ण छ,’ उनले भने, ‘के कारणले वुटवलमा राजधानी हुँदैन?’
कांग्रेस र कम्युनिष्ट राष्ट्रिय पार्टी भएकोले भेगअनुसार निर्णय गरेर राजधानी सार्न नहुने उनले बताए।
नयाँ ठाउँमा राजधानी बनाउन अर्थतन्त्रले नभ्याउनेसमेत कनौडियाको तर्क छ।
‘नगर र गाउँको भवन बन्न सकेको छैन। प्रदेशको संरचना कसरी बनाउने?,’ उनले भने, ‘नयाँ ठाउँ विकास गर्न होटल खोल्न सकिन्छ। रहर र राजनीतिक स्वार्थका लागि राजधानी सार्ने प्रस्ताव ल्याइएको छ।’
राजनीतिक तर्फबाट निकास निकाल्न मुख्यमन्त्रीलाई पटकपटक आग्रह गरे पनि पेलेर जाने र दुई तिहाइ दम्भ देखाएको उनले बताए।
‘बहुमतले पेलेर हुँदैन। सबैको स्वामित्वको विषय हुनुपर्छ,’ उनले भने, ‘सर्वसहमतिबाट पास गर्नुपर्छ।’
बैठक सुरू गरेलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुखले कनौडियालाई बोल्न दिएका थिए। कनौडियाले बोलिसकेपछि कांग्रेस सांसदहरूले नाराबाजी गरेका छन्। कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।