कोभिड-१९ का बिरामी बढेकोबढ्यै, आईसीयू र भेन्टिलेटर पाउन गाह्रो
काठमाण्डूमा एक ७० वर्षीय वृद्ध कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि गत साता देघि एउटा निजी अस्पतालमा भर्ना भए। श्वासप्रश्वास समस्या देखिए पछि उनलाई आईसीयूमा लगियो। तर सोमवार थप अप्ठ्यारो भए पछि परिवारका सदस्यहरूलाई बिहान करिब बिहान बजे फोन आयो - बिरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने भयो।
तर सङ्घीय राजधानी काठमाण्डूका सबैजसो अस्पतालमा बुझ्दा खोज्दा पनि भेन्टिलेटर उपलब्ध हुन सकेन। साँझतिर ती व्यक्तिको मृत्यु भयो।
ती वृद्ध अहिलेको अवस्था चित्रण गर्ने एक प्रतिनिधिपात्र हुन्। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढेकोबढ्यै गर्दा जटिलता देखिने बिरामीको सङ्ख्या पनि बढ्न थालेको चिकित्सकहरू बताउँछन्। अस्पलालमा सीमित सङ्ख्यामा उपलब्ध सघन उपचार शय्या र भेन्टिलेटरले बिरामीको चाप थेग्न नसक्ने अवस्था देखिएको उनीहरूको भनाइ छ।
सामाजिक सञ्जाल ट्विटरमा सुभाष अधिकारीले आफ्ना साथीको परिवारले खेप्नुपरेको उक्त पीडाबारे लेख्दै सबैलाई "सतर्क" हुन आग्रह गरेका छन्।
देशभरि र खासगरी सघन जनघनत्व भएको काठमाण्डू उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको छ। सङ्क्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको अवस्थामा उनीहरूलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीको स्वीकारोक्ति छ।
अवस्था गम्भीर बन्दै गएको औँल्याउँदै केही चिकित्सकहरूले पनि सामाजिक सञ्जालमार्फत् नै अत्यावश्यक सेवा दिन गाह्रो भएको विषय सार्वजनिक गरिरहेका छन्।
काठमाण्डूमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा वृद्धि भइरहेका बेला अवस्था गम्भीर हुँदै गएको उनीहरू बताउँछन्। मन्त्रालयका अनुसार असोज पहिलो सातासम्ममा नेपालमा ९३० वटा भेन्टिलेटर छन्।
त्यस्तै आईसीयू शय्याको सङ्ख्या २,६०० को हाराहारीमा छन्। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हाल करिब ५५० भेन्टिलेटर कोभिड-१९ का बिरामीका लागि भनेर छुट्याएर राखिएको छ। त्यस्तै एक हजारको हाराहारीमा आईसीयू शय्या छुट्टाइएको छ।
सहप्रवक्ता अधिकारीले भने, "सङ्क्रमण यही गतिमा बढ्यो, हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सकेनौँ र चुक्दै गयौँ भने हामीले अस्पतालमा सघन उपचारका लागि शय्या नपाउने अवस्था सिर्जना हुँदै गएको अवस्था छ"।
काठमाण्डू उपत्यकामा सङ्क्रमण बढिरहेको र सङ्क्रमणसँग जुझ्न नसक्ने व्यक्तिहरूको सङ्ख्या बढिरहेको अवस्थाले समस्या झन् जटिल बनेको अधिकारीहरूको भनाइ छ।
"सङ्क्रमण यही गतिमा बढ्यो, हामीले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सकेनौँ र चुक्दै गयौँ भने हामीले अस्पतालमा सघन उपचारका लागि बेड नपाउने अवस्था सिर्जना हुँदै गएको अवस्था छ," उनले भने। सरकारले निरन्तर पछिल्लो अवस्थालाई सम्बोधन गर्नेगरी काम गरिरहेको तर नयाँ सङ्क्रमितहरूको सङ्ख्या सोचेभन्दा निकै बढी भएकाले समस्या देखिएको बताएको छ।
"आवश्यकता पूर्ति गर्नका लागि बजेट व्यवस्थापनका साथै खरिद प्रक्रिया अघि बढाइएको छ। सबै अस्पताल पहिले जस्तै खाली छन् भन्न सकिने अवस्था छैन। अहिले बिस्तारै गाह्रो हुँदै गएको अवस्था छ।"
उपत्यकामा कोभिड-१९ पुष्टि हुनेको सङ्ख्या ३१,००० नाघेको छ। काठमाण्डूमा ११,२९५ सहित अहिले उपत्यकामा झन्डै १४,००० सक्रिय सङ्क्रमित भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
विश्वव्यापी रूपमा नेपालको स्थिति
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्याका आधारमा नेपाल विश्वव्यापी रूपमा ४५ औँ स्थानमा छ। नेपालमा सोमवार अपराह्णसम्म सङ्क्रमितहरूको सङ्ख्या ८९,००० पुगेको छ। नेपालमा मृतकको सङ्ख्यामा भने तुलनात्मक रूपमा कम छ।
नेपालमा कोभिड-१९ का कारण हालसम्म ५५४ जनाको मृत्यु भएको छ।
चवालिसौँ स्थानमा रहेको चीनमा सङ्क्रमितहरूको सङ्ख्या ९०,६५२ छ। तर त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या भने ४,७३९ छ।
अर्को छिमेकी भारतमा सङ्क्रमितहरूको सङ्ख्या ६६ लाख नाघेको छ। त्यहाँ हालसम्म एक लाख भन्दा बढी को मृत्यु भएको छ। त्यस्तै अमेरिकामा सबैभन्दा बढी ७४ लाखभन्दा बढी सङ्क्रमित छन् भने २,१०,००० भन्दा बढीको मृत्यु भएको छ।