लुम्बिनीका लेखा समिति सभापति चौधरीलाई कोरोना
लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना पुष्टि भएको छ।
निमोनिया र सुगरको समस्या देखिएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश सांसद चौधरीलाई त्यहीँ गरिएको पिसिआर परीक्षणका क्रममा सोमबार राति संक्रमण पुष्टि भएको हो । आइसियूमा भर्ना भएका चौधरीको स्वास्थ्यमा मंगलबार क्रमिक सुधार आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । स्वास्थ्यमा एकाएक समस्या उत्पन्न भएपछि उनी दुई दिनअघि भेरी अस्पतालमा भर्ना भएका थिए ।
त्यसअघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट नेगेटिभ आएको थियो।
चौधरीका चालक र सुरक्षाकर्मीलाई भने कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, काननुमन्त्री कुलबहादुर केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ।
हाल उनीहरू होम आइसोलेनमा बसेका छन् ।