दशैँ मान्न घर फर्कनेले बढाउन सक्छन् कोरोना संक्रमण,यथास्थितीमै मनाउन चिकित्सकको आग्रह
नुवाकोटकी गीता थापा दशैँ मनाउन सपरिवार काठमाडौँबाट बस चढेर घर फर्किएकी छन् । निशेधाज्ञा खुलेपछि कोरोना भाइरसको जोखिम बढेपनि त्यसको बेवास्ता गर्दै उनी दशैं मान्न घर फर्किएकी हुन् ।
उनीसँगै कोटेश्वरमा गाडी पर्खिदै गरेकी सपना मल्ल पनि दुई छोरी र एक छोरासहित दशैँ मनाउन गाउँ फर्किने लाइन्मा थिइन् । मुखमा मास्कमात्रै लगाएकी उनले न त पञ्जा लाएकी थिइन् न त फेस सिल्ड नै ।
मास्ककै सहारामा तीन सन्तानसँग गाउँ हिड्न तम्सिएकी सपना भन्छिन्, 'अब कोरोनाको डर लाग्न नै छोड्यो । केहि हुँदैन रहेछ हाम्रो घरबेटिलाई लागेको थियो । केहि भएन आफैं ठीक भयो । हामी मात्रै डराएका रहेछौँ ।’

कोरोनाको डर लाग्न छाडेको भन्दै सपना र गीता वर्षदिनमा आउने पर्व नछुटाउन घर जान तम्सिएका हुन् ।
अहिले गीता र सपना जस्तै कोरोना संक्रमणको जोखिमलाई नजरअन्दाज गर्दै दुई ठूला पर्व दशैँ र तिहार मनाउन गाउँ फर्किनेहरुको भीडभाड बढ्न थालेको छ ।
देशभर थपिने कोरोना संक्रमितमध्ये झण्डै आधा त उपत्यकामा मात्रै थपिने गरेका छन् । तर संक्रमितको तथ्यांकले घर हिँड्न पाइला उचालेका सर्वसाधारणलाई भने कुनै असर पारेको छैन ।
एकाबिहानै लामो दुरीका यातयात लाग्ने बस स्टेशन या दिउँसो एयरपोर्टमा काठमाडौँ बाहिरिनेको संख्या हेर्ने हो भने कोरोना कहरको कुनै छनक देखिदैन । भीडमा दशैँ मनाउन सपरिवार गाउँ फर्कनेदेखि ६ महिना घरमा बस्दा बस्दा वाक्क लाग्यो भन्दै घुम्न निस्किनेहरु उल्लेख्य मात्रामा भेट्न सकिन्छ ।
विश्व स्वास्थ्य संगठनले नेपालमा भयावय स्थिती सिर्जना हुन सक्ने चतावनी दिइरहँदा कोरोनाको हब बनेको उपत्यकामा भने पछिल्लो समय चाडपर्वकै नाममा भीड लाग्ने गरेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट विभागका संयोजक डा.शेरबहादुर पुनले सर्वसाधारण चाडपर्व मनाउनकै लागि जोखिम मोलेर गाउँ फर्किनुले दशैँ दशामा परिणत हुने सक्ने सम्भावना बढेको बताउँछन् ।
उनले भने, ‘लकडाउन खुल्ने वित्तिकै दशैं मनाउन सबै घर गाउँ फर्किन थालेका छन् । हवाईदेखि सडक यातायातका क्षेत्रमा पर्याप्त सुरक्षा अपनाइएको छैन । यो अवस्थामा संक्रमणको संख्या हामीले सोच्नै नसक्ने गरी बढ्न सक्छन् ।
डा. पुन कोरोनालाई हेलचेक्राइँ गरेर दशैँ मनाउन गाउँ फर्कदा आफू मात्र नभएर सिंगो देशलाई नै संक्रमणको दलदलमा धकेल्न सक्ने बताउँछन् । उनले अहिले यस वर्ष जहाँ बसिरहेको हो त्यही नै चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गर्छन् ।
‘जीवन भए हरक वर्ष दशैँ आउँछ हरेक वर्ष हर्सोउल्लासका साथ मनाउन र घरपरिवारसँग भेटघाट गर्न पाइन्छ । त्यसैले एक वर्ष चाडका लागि ज्यान जोखिममा नफाल्नुहोस्,’ उनले भने, ‘हामीलाई पनि दशैँ लाग्छ हरेक वर्ष घरमा चाडपर्व मनाउने गछौँ तर यस वर्ष अस्पतालमै बस्नेछौँ सबै स्वास्थ्यकर्मी, हामी आफ्नो कारणले बाँकी परिवारको ज्यान जोखिममा राख्दैनौँ । त्यसैले हरेक सर्वसाधारणले यो कुरा बुझेर सकेसम्म आफू जहाँ हुनुहुन्छ, त्यही बसेर दशैँ मनाउनुस् ।’
त्यसो त डा.पुण्य गौतम पनि यस वर्ष दशैं मान्नकै लागि जीवन जोखिममा नराख्न सर्वसाधरणहरुलाई आग्रह गर्छन् । निषेधाज्ञा खुलेपनि संक्रमणको जोखिम कायमै रहेकाले आफैं सचेत हुनुपर्ने उनको भनाई छ ।
उनी भन्छिन्, ‘नेपाली जनताले मात्र नभएर सरकारले नै हेलचेक्राइँ गरिरेहेको छ संक्रमण भयावय देखिसक्दा पनि सरकारी पक्षको नियन्त्रणमा सक्रियता नदेखिएकाले भोलिको दिनमा स्वास्थ्य संकट बढ्दै जाने निश्चित छ । अझ सर्वसाधरणमा समेत सुरक्षित हुनुपर्ने चेत हुँदाहुँदै पनि बेवास्ता गर्दा संक्रमणको संख्या दशैँ अवधीभर तेब्बरले बढ्न सक्छ ।’
लकडाउन खुले पनि संक्रमणदर दुई गुणाले बढिरहँदा पनि दशै तिहार जस्ता चाडपर्व मनाउनकै लागि भएपनि जोखिम मोलेरै गाउँ फर्किनेहरु बढिहेका छन् ।
सरकारले तय गरेका मापदण्ड पनि पूर्ण पालाना नगरी घर फर्कनेहरको भीड लाग्दा कोरोनाको संक्रमण उच्च हुने चिकित्सकहरु बताउँछन् ।
त्यति मात्र नभएर कोरोनाको हब बन्दै गएको काठमाडौँबाट विना परीक्षण दिनहुँ सयौँको संख्यामा गाउँगाउँ मानिस जाँँदा देशैभरी फेरि संक्रमणको भयावय स्थिति पैदा हुन सक्ने भन्दै यसवर्षको दशैँ तिहार याथस्थितिमा नै मनाउन चिकित्सकको आग्रह छ ।