कोभिड—१९ ले सांस्कृतिक पर्यटनमा पारेको प्रभावबारे वेबिनार हुँदै
नेपालको सांस्कृतिक सम्पदा वा धार्मिक पर्यटनमा कोभिड—१९ ले पारेको प्रभावका विषयमा छलफल हुने भएको छ । यू एन ह्याबिट्याट पर्या सम्पदा परियोजनाको अग्रसरता तथा गैरसरकारी संस्था सभा नेपालको आयोजनामा हुने वेबिनारमा काठमाडौं उपत्यकाको विभिन्न सांस्कृतिक सम्पदामा पर्यटक आवगमनको अवस्था, त्यसले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभावबारे छलफल हुने कार्यक्रम संयोजक संमृद्धि ढकालले जानकारी दिनुभयो ।
नेपालको कला, संस्कृति तथा धार्मिकस्थल पर्यटकीय गन्तव्य कोभिड—१९ का कारण सुनसान बनेको अवस्थामा भावी कार्यदिशा खोज्ने प्रयास स्वरुप कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।
सो वेबिनारमा ललितपुर महानगरपालिकाका सल्लाहकार दिनेशलाल श्रेष्ठ तथा निजी क्षेत्रका तर्फबाट सोसियल टुरका संस्थापक निर्देशक राज ज्ञवालीले विद्यमान अवस्था र धार्मिक पर्यटनको सम्भावना विषयमा आफ्नो धारणा राख्नु हुनेछ ।
सभा नेपालका सद्भावना दूत तथा पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले संचालन गर्ने सो कार्यक्रममा उपत्यकाका पर्यटकीय स्थल रहेका सांस्कृतिक सम्पदाको संरक्षण, व्यवस्थापन तथा प्रचार प्रसारमा ध्यान दिनुपर्ने विषयमा छलफल गर्न लागिएको छ।
सास्कृतिक पर्यटन प्रर्वद्धन तथा सम्पदा संरक्षणमा सक्रिय संस्था लुमन्ती, सि आई यू डि तथा सभा नेपालले ललितपुरको बुङ्गमती तथा पिलाच्छे क्षेत्रमा सांस्कृतिक सम्पदाको निर्माण, समुदायको क्षमता विकास तथा पर्यटन प्रर्वद्धन विषयमा कार्यक्रम संचालन गरिरहेका छन् ।
नेपालमा पर्यटनले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिएको, साढे तीन लाखलाई मौसमी रोजगारी दिने गरेको बताइन्छ ।