मिथिलामा आज कोजाग्रत पूर्णिमा मनाइँदै
मिथिलाञ्चलमा आज धुमधामका साथ कोजाग्रत पूर्णिमा मनाइँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाका दिन मिथिलाका नवविवाहित पुरुषको घरमा केटी पक्षबाट पान, मखान, दही, केरा, लड्डु, माछासहितका भार पठाइने गरिन्छ।
प्रचलन अनुसार केटी पक्षले उपहार स्वरुप दिएका चाँदीको कौडाले केटा पक्ष र केटी पक्षबीच कौडा खेल्ने गरिन्छ। यसैगरी मिथिलाञ्चलको घरघरमा आज विशेष रुपले कोजाग्रत पूर्णिमा मनाइए पनि प्रसिद्ध जानकी मन्दिरमा भने भोलि मात्रै मनाइने भएको छ।
कोजाग्रत पूर्णिमाको तिथि हेरफेर भएकै कारण मन्दिरमा शनिबार मात्रै कोजाग्रत पूर्णिमा मनाइने जानकी मन्दिरका पूजारी ऋषिकेष झाले बताए।
‘जानकी मन्दिरमा शनिबार मात्रै कोजाग्रत मनाइन्छ,’ उनले भने, ‘यसका लागि प्रत्येक वर्षझैँ यसपाली पनि महोत्तरीको रतौली गाउँबाट भार आउँछ। त्यसपछि विधिवत् रुपमा जानकी मन्दिरबाट सन्तमहन्थको टोली भार चुरा, दही, केरा, मखान, पानसहितका सामग्री लिएर राम मन्दिरका लागि प्रस्थान गरिनेछ।’
उनकाअनुसार विभिन्न परिकार गरी करिब १०१ वटा भार आउने गर्छ। शनिबार बिहान रतौलीबाट भार आउने उनले बताए।