विपन्नलाई शुभकालिका गाउँपालिकाले उपलब्ध गरायो दसैँ राहत
कालीकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैँ राहत उपलब्ध गराएको छ । गाउँपालिकाले दसैँ(तिहारमा खर्च टार्न कठिन भएका गाउँपालिकाभित्रका २ सय १० जनालाई राहत उपलब्ध गराएको हो ।
गाउँपालिकाभित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई लक्षित वर्गमा उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैँका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाईंले बताए ।
‘गाउँपालिकाभित्रका अति विपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई खर्च नगद दिने योजना थियो ।’ उनले भने,‘गाउँपालिकाको चौमासिक खर्च निकासा नभएका कारणले तत्कालका लागि दसैँ खर्चस्वरुप खाद्यान्न उपलब्ध गराएका हौँ ।’
गाउँपालिकाले कोरोना कहरका कारणले दसैँमा भीडभाड, टीका थाप्न नजान, जहाँ छौँ, त्यहीँ दसैँ मान्नका लागि नागरिकलाई आग्रह गरेको छ ।