मंसिर १५ गते एकसाथ शिलान्यास गरिने
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने भएको छ ।
सबै स्थानीय तहमा ५ देखि १५ शैय्यासम्मको आधारभूत अस्पताल स्थापना गर्ने नीति अनुरूप अर्थमन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच एकैपटक भवन शिलान्यास गर्ने सहमति भएको हो ।
उक्त अस्पतालका भवनहरुको आगामी मंसिर १५ गते शिलान्यास एकसाथ हुने अर्थमन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा दुवै मन्त्रालयका अधिकारीबीच भएको बैठकमा सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने सहमति भएको हो ।
सरकारको यस महत्वाकांक्षी योजना अनुसार मुलुकभर एकैपटक ३७६ स्वास्थ्य केन्द्र र प्राथमिक स्वास्थ्य चौकी निर्माण हुनेछन् । सरकारको यस एकीकृत योजना अन्तर्गत प्रादेशिक र संघीय अस्पतालहरू समेत रहेका बताइएको छ । कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्नेगरी तयार भएको कार्ययोजना बमोजिमको खरिद प्रक्रिया स्वास्थ्य न्त्रालयले अगाडि बढाउने भएको छ ।
त्यस्तै, उक्त उपकरणहरु तत्काल खरिदका लागि आर्थिक स्रोतको व्यवस्थापन अर्थमन्त्रालयले मिलाउने सहमति पनि भएको बताइएको छ ।