किम जोङ उन रोए, जनतासँग मागे माफी
उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना नागरिकहरूको जीवनमा सुधार ल्याउन नसकेको भन्दै माफी मागेका छन् ।
गत शनिबार भएको वर्कस पार्टीको ७५ औं वार्षिकोत्सवको सैनिक परेडमा भावुक हुँदै किमले आफ्ना सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए। सोही क्रममा उत्तर कोरियाली जनतासँग माफी मागेका थिए । आँधीबेरीले पुर्याएको क्षति र कोरोना भाइरसको महामारी फैलिनबाट रोकेकोमा किमले कार्यक्रममा सहभागी हजारौं सैनिकलाई धन्यवाद ज्ञापन गरेका थिए ।
किम भावुक हुँदा आँशु पुछ्दै गरेको भिडिओ राज्यद्वारा सञ्चालित एक टेलिभिजनमार्फत सार्वजनिक भएको थियो । टेलिभिजनद्वारा सार्वजनिक भएको भिडिओमा कतिपय दर्शक समेत रोएको देखिन्छ । सैन्य परेडपछि किमले कोरोनाभाइरसको महामारी सकिएपछि दक्षिण कोरियाले आफूसँग फेरि हात मिलाउने बताएका थिए ।
साथैउनले सोही दिन परेडमा नयाँ इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल, नयाँ मल्टिपल लन्च रकेट सिस्टम, छोटो दूरीको मिसाइल पनि सार्वजनिक गरेका थिए । किमले उत्तर कोरियाली एक जनामा पनि संक्रमण नदेखिएकोमा आफू कृतज्ञ भएको बताएका थिए। जुन दाबी अमेरिका र दक्षिण कोरियाले शंका गर्दै आएका छन् ।
'हाम्रा जनताको जीवनमा आइपरेका कठिनाइबाट मुक्त गराउन मेरो प्रयास र इमान्दारिता पर्याप्त भएको छैन', उनले उक्त कार्यक्रममा सम्बोधन गर्दै भने, 'यद्यपि हाम्रा जनताले सधैं विश्वास र पूर्ण भरोसा गरेका छन्, जे जस्तो भए पनि मेरो छनोट र संकल्पको समर्थन गरेका छन्।'
आणविक हतियार तथा ब्यालिस्टिक मिसाइलका कारण उत्तर कोरियासँग विभिन्न राष्ट्रले व्यापारमा प्रतिबन्ध लगाएका छन् ।
तर अहिले कोरोना भाइरसको महामारी फैलिनबाट जोगाउन उत्तर कोरियाले नै आफ्ना सम्पूर्ण अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेको छ। जसकारण उत्तर कोरियाको अर्थतन्त्रमा थप असर परेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियाका ४० प्रतिशत जनसंख्यालाई खानपिनको अभाव हुने बताएको छ । जसलाई बाढी तथा टाइफुनले अझ बढी प्रभाव पारेको हुनसक्ने राष्ट्रसंघको अनुमान छ ।