८० हजार घुससहित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ
(काठमाडौं) सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ८० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कंचनपुरको टोलीले ८० हजार घुस लिइसकेको अवस्थामा कैलालीको सीताराम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामप्रसाद रानालाई पक्राउ गरेको हो ।
सव डिभिजन वन कार्यालय तारानगर कैलालीले ट्याक्टरका चालकसहित काठ बरामद गरेको मुद्दा मिलाइदिन्छु भनि सोही कार्लायका रेन्जर राम अवतार चौधरीले सेवाग्राहीसँग घुस माग गरेको उजुरी अख्तियारमा परेको थियो । चौधरीलाई घुस दिनका लागि बिचौलियाको भूमिका निर्वाह गर्ने अध्यक्ष रानालाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
कैलालीको धनगढी उप-महानगरपालिका १ को पार्क मोड भन्ने स्थानबाट बिहीबार नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।