क्लिनफिड अनुगमनका लागि तयार भयो संयन्त्र
पछिल्लो १६ वर्षदेखिको प्रयासबीच लागू हुन नसकेको क्लिनफिड नीति ८ कात्तिक देखि लागू हुने भएको छ । नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्लिनफिड लागू गराउनको लागि सबै संयन्त्र तयार भएको जानकारी गराएको छ ।
विज्ञापन ऐन २०७६ को व्यवस्थाअनुरूप तोकिएको मिति ८ कात्तिकदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूमा क्लिनफिड लागू हुने भएको हो।
अघिल्लो वर्ष संघीय संसदबाट पारित भइ प्रमाणिकरण भएको विज्ञापन ऐनको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था गरेको छ ।
ऐनले नै एक वर्षको सयम दिँदासमेत केवल टेलिभिजन प्रशासक संस्थाहरु भने अझै पनि समय अप्रयाप्त भएको भनेर समय थपको माग गरेका छन् । यद्यपि कानुनले नै तोकेको मिति सरकारले भने अनिवार्य कार्यन्वयन गराउनु पर्नेछ ।
सरकारले ८ कात्तिकबाट क्लिनफिड लागू गर्नको लागि तयार रहन निर्देशन दिएसँगै केवल टेलिभिजन महासंघले ४ महिनाको समय माग गरेको छ । महासंघले आधारिकारिक रुपमा चैतदेखि असारसम्मको समयलाई शून्य समय मानेर समय थप गर्न आग्रह गरेको थियो ।
त्यस्तै गत भदौमा केही समय भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ) ले नेपाल सरकारलाई थप ६ महिना क्लिनफिड नीति कार्यान्वयनमा नल्याउन आग्रह गर्दै पत्र पठाएको थियो ।
तर, सूचना तथा सञ्चार मन्त्रालयले पछि हट्ने सक्ने अवस्था नरहेको र ८ कात्तिकदेखि लागू नै हुने जनाएको छ ।
'ऐनले तोकेको मितिअनुसार नै हामीले कार्यन्वयन गर्ने हो,' सञ्चार मन्त्रालयका प्रवक्ता गोकर्ण दुवाडीले भने ' अब कानुन अहिले ८ कात्तिकलाई पर सार्ने गरी कानून संशोधनको पनि समय छैन, त्यसैले लागू हुने छ ।'
नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल क्लिनफिड लागू हुनु ठूलो उपलब्धि भएको बताउँछन् । '१६/१७ वर्षदेखि क्लिनफिड लागू गर्ने भनेर पनि सकेका थिएनौं अहिले सरकार दरिलोसँग उभिएका कारण सम्भव भएको छ,' रिजालले भने ।
क्लिनफिड लागू गर्न संयन्त्र तयार
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले क्लिनफिड लागू गर्न संयन्त्र तयार गरिसकेको जानकारी गराएको छ ।
विज्ञापन प्रशारण ऐन र राष्ट्रिय प्रशारण ऐन क्लिनफिड लागू गर्ने कानुनी आधार हो । संस्थागत संयन्त्रको रुपमा सूचना तथा प्रशारण विभाग रहेको छ ।
विभागमा कुन प्रशारकले कुन च्यानल प्रशारण गरेको छ र क्लिनफिड लागू गरेको छ भन्ने अनुगमन र रेकर्डिङ सिस्टम बनिसकेको प्रवक्ता दुवाडीले जानकारी गराए ।
'हामीले २४ नै घण्टा अनुगमन गर्नको लागि रेकर्डिङ सिस्टम बनाइसकेका छौँ । हामी क्लिनफिड लागू गर्नका लागि पूर्ण रुपमा तयार छौँ,' दुवाडीले भने । कर्मचारीहरुलाई प्रशिक्षण दिने काम पनि सकिएको जानकारी उनले गराएका छन् ।
क्लिनफिड लागू नगरे कस्तो कारवाही
विज्ञापन ऐनविपरीत प्रशारक संस्थाहरूले विदेशी च्यानलमा विज्ञापन प्रसारण गरेमा ५ लाख रुपैयाँ जरिवाना र १ वर्षसम्मको सजाय गरिने मन्त्रालयका प्रवक्ता दुवाडीले बताए ।
क्लिनफिड कार्यान्वयन नगर्दा विज्ञापन ऐन र राष्ट्रिय प्रसारण ऐनको व्यवस्था अनुसार कारबाही गरिने जनाइएको छ । विज्ञापन ऐनअनुसार क्लिनफिड कार्यान्वयन नगर्ने संस्थालाई ५ लाख रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था छ ।
दबाब दिन विज्ञापन काटियो तर बजार बढ्ने अपेक्षा
नेपालमा क्लिनफिड लागू भएपछि करिब १ अर्ब रुपैयाँको विज्ञापन बजार घटेको नेपाल विज्ञापन संघको तथ्यांक छ । यो विज्ञापन नेपाललाई दबाब दिन विदेशी एजेन्सीले काटिदिएको विज्ञापन संघका अध्यक्ष रिजालको दाबी छ ।
रिजालकाअनुसार अहिले नेपालमा करिब १२ अर्ब रुपैयाँको विज्ञापन रहेको छ । यो विज्ञापनमा आगामी ६ महिनामासम्म केही कमी आउन सक्ने उनले बताए । त्यसपछि भने सबैले क्रमश १/२ वर्षभित्र २ गुणासम्म बढ्ने उनले बताए ।
'सुरुवातमा त विदेशी कम्पनीहरूले घुर्की लगाएकै छन्, घुर्की लगाएको कारण र नेपाललाई हेपेका कारण नै अहिले १ अर्बको बजार घटेको हो, 'रिजालले भने 'पूर्ण रूपमा क्लिनफिड लागू भएपछि नेपाली च्यानलमा विज्ञापन बढ्छ नै ।'
साभारः शिलापत्र