एकैदिन ५४० खसीबोका बिके
काठमाडौं । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ल्याएका खसी तथा बोका बजार मूल्यअनुसार धेरै सस्तो भएपछि एकैदिन धेरै बिक्री भएको छ । यस वर्ष बडादशैँमा एक हजार खसी तथा बोका बिक्री गर्ने तयारी रहेकामा एकै दिन (सोमबार) नै ५४० वटा बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
सोमबार आएका ६०५ खसीबोकामध्ये बाँकी भएका ६५ र आज बिहान आएका एक सय गरी १६५ खसीबोका बिहान नै बिक्री भइसकेको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार थप २९५ खसीबोका आउने क्रममा छन् ।
हेटौँडा र दाङबाट थप खसीबोका आज साँझसम्म आउने क्रममा रहेको कम्पनीले जनाएको छ । एकै दिनमा अनुमान गरेभन्दा धेरै खसीबोका बिक्री भएपछि आज अपराह्न खसीबोका बिक्री नहुने जनाइएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण गत वर्षका तुलनामा यस वर्ष बिक्रीमा कमी आउने अनुमान गर्दै कम्पनीले एकएक हजार खसीबोका तथा च्याङ्ग्रा बिक्री गर्ने तयारी गरेको थियो । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङमा नै महँगो भएपछि खसीबोका मात्र बिक्री गरिएको थियो ।