मेलबर्नमा साढे तीन महिनापछि लकडाउन अन्त्य
अष्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्नमा कोरोना महामारीका कारण गरिएको लकडाउन एक सय ११ दिनपछि बुधबार अन्त्य भएको छ ।
यो लकडाउन अन्य ठाउँमा लगाइएको भन्दा लामो भएको अधिकारीहरुले बताएका छन् ।
लकडाउन खुल्ला गरेपछि स्थानीय बासिन्दाले राहत र सहजता महसुस गरेको समाचारमा जनाइएको छ ।
‘कठिन यात्रा सकिएको छ, धेरै लामो समय बिताउन जस्तो गाह्रो भएको थियो,’ लकडाउन खुलेपछि मेलबर्नका एक स्थानीयले भने ।भिक्टोरिया राज्य सरकारले लकडाउन अन्त्य गर्ने घोषणा गरेसँगै यस क्षेत्रका व्यापारिक प्रतिष्ठानहरु खुल्ला भएका छन् । उनीहरुले कारोबार गर्न थालेका छन् भने कामदारहरुले काम गर्न पाएका छन् ।
लकडाउन खुल्ला गरिए पनि सडकमा भिडभाड नगर्न र मास्क लगाएर मात्र हिँड्न भनिएको छ । त्यसैगरी घरदेखि २५ किलोमिटर टाढा जान नपाइने व्यवस्था गरिएको छ ।
सरकारी अधिकारीहरुले सकेसम्म घरबाटै काम गर्ने वातावरण बनाउन पनि सबैलाई आह्वान गरेका छन् ।