विराटनगरमा कोरोना संक्रमित वृद्धको मृत्यु
(विराटनगर) विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
सप्तरीको विसनपुर-५ घर भएका ६७ वर्षीय पुरुषको बिहीबार दिउँसो १:५० बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । वृद्ध यसअघि विराटनगरकै म्याक्स अस्पतालमा उपचाररत थिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई बुधबार थप उपचारका लागि म्याक्सले नोबेल रेफर गरेको थियो ।
दाहालका अनुसार आकस्मिक कक्षको आइसीयूमा राखेर उपचार थाल्दै पीसीआर परीक्षणका लागि बुधबारसाँझ स्वाब संकलन गरिएको थियो । नोेबेलकै प्रयोगशालाबाट रिपोर्ट बिहीबार दिउँसो १:४५ बजे पोजेटिभ आएको र त्यसको पाँच मिनेट पनि बित्न नपाउँदै संक्रमितको मृत्यु भएको उनको भनाइ छ ।
दाहालका अनुसार कोरोना पुष्टि भएको केही बेरमै मृत्यु भएकाले वृद्धलाई अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार गराउन पाइएन । चिकित्सकलाई उद्धृत गर्दै उनले दिएको जानकारी अनुसार वृद्धमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको पुरानो समस्या थियो ।